तीन वर्षको यात्रामा, कृषि परिवर्तनको सारथी – “कृषि सारथी”
तीन वर्ष... समयको गणनामा सामान्य लाग्ने तर अनुभूतिमा गहिरो, संघर्षमा लचिलो र यात्रामा गौरवपूर्ण। YEAST (Youth for Environment And Social Transformation) को स्थापना देखिनै हामीले कृषिको मौलिकता, युवाको ऊर्जा, र समाजप्रतिको उत्तरदायित्वलाई समेटेर कुनै न कुनै स्वरूपमा सार्थक उत्पादन दिने सपना पालेका थियौं। ती सपनाहरूलाई शब्दमा उतार्ने हाम्रो सामूहिक प्रयासको परिणतिका रूपमा, हामीले "कृषि सारथी" पुस्तक प्रकाशन गरेका छौं—जसले केवल पाना पल्टाउने होइन, सोच बदल्ने हिम्मत बोकेको छ।
२०८२ सालको बैशाख ४ गते, YEAST को तेस्रो वार्षिकोत्सव को पावन अवसरमा हामीले “कृषि सारथी” को औपचारिक विमोचन गर्न पाएका छौं। त्यो ऐतिहासिक क्षणलाई अझ गौरवशाली बनाइदिनु भएको थियो माननीय श्री दिनेश पन्थी, मन्त्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको प्रमुख आतिथ्यमा। उहाँको उपस्थितिले हाम्रो प्रयासलाई सरकारी मान्यता मात्र होइन, प्रेरणाको ठूलो ऊर्जा प्रदान गर्यो। विमोचन कार्यक्रममा कृषि क्षेत्रका विभिन्न वरिष्ठ विज्ञ, युवा अभियन्ता, सरोकारवालाहरू, लेखक तथा पाठकहरूको व्यापक उपस्थिति रहँदा, पुस्तकको उद्देश्य र प्रभाव अझ प्रगाढ भएको महसुस गर्यौं।
"कृषि सारथी" नाम आफैंमा एक प्रतीक हो—यो नामले माटोको गन्ध, हलको रेखा, र किसानको विश्वास बोकेको छ। हामीले यस पुस्तकमार्फत कृषि मात्र होइन, कृषिसँग जोडिएका विज्ञान, समाज, बजार, शिक्षा र युवाको भूमिका सबै समेट्ने प्रयास गरेका छौं। यो कुनै एक व्यक्ति वा संस्थाको दृष्टिकोण होइन—यो सामूहिक सोच, साझा पीडा र सहकार्यको समिश्रण हो। पुस्तकमा रहेका प्रत्येक लेखहरूले पाठकलाई गम्भीर सोचमा डुबाउने मात्र होइन, समाधानको बाटो देखाउने कार्य गर्दछन्। हाम्रा लेखकहरू कृषिमा सक्रिय युवादेखि लिएर अनुभवी विज्ञसम्म छन्, जसले आफ्ना दृष्टिकोणहरूलाई तथ्य र तर्कसहित प्रस्तुत गरेका छन्।
सम्पादकीय प्रक्रियाको कुरा गर्ने हो भने, यो सजिलो थिएन। हामी—इन्दु, सरस्वती, विशाल र कृतिमा—चारजना फरक पृष्ठभूमिका व्यक्ति, तर एउटै उद्देश्यका यात्रु। हामीले सयौं पानाहरू छानबिन गर्यौं, दर्जनौं पटक बहस गर्यौं, रात–रातभर विचारहरू परिमार्जन गर्यौं, अनि शब्दहरूलाई जीवन्त बनाउँदै सजीव दस्तावेजको रूप दिएका छौं। हामीले शब्दहरू मात्र मिलाएका छैनौं, हामीले एक पुस्ताको सोच मिलाउने प्रयास गरेका छौं। प्रत्येक लेखलाई, प्रत्येक पंक्तिलाई हामीले यसरी प्रस्तुत गरेका छौं कि पाठकले त्यो पढ्दा माटोको गन्ध महसुस गरोस्, खेतको लय सुन्न सकोस्, अनि सोचमा हल जोतियोस्।
हामीलाई थाहा छ, "कृषि सारथी" कुनै अन्तिम उत्तर होइन। यो त बहसको सुरुवात हो—एक यस्ता बहसहरू जुन किसानको खेतदेखि नीति निर्माणको चौतारीसम्म गुञ्जिउन्। यो पुस्तक हाम्रा लागि केवल प्रकाशन होइन, यो एक आन्दोलन हो—ज्ञान र अनुभूतिको आन्दोलन। हामी चाहन्छौं यो पुस्तक विद्यालयका पुस्तकालयदेखि लिएर गाउँका चौतारीसम्म पुगोस, कृषि पढ्ने विद्यार्थीको कापीमा यसको असर परोस्, र नीति निर्माणकर्ताको बैठकमा यसको चर्चा होस्।
अन्ततः, हामी सम्पूर्ण YEAST परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौं जसले हाम्रा विचारहरूलाई ढुक्क साथ सुम्पनु भयो, हाम्रा प्रयासहरूलाई साथ दिनु भयो। “कृषि सारथी” अब पाठकको हातमा पुगेको छ। हामी सबैलाई साथ दिई, समर्थन गरी, समीक्षा गरी, अझ राम्रो बनाउन सल्लाह दिनुहोस्। किनभने यात्रा अझ बाँकी छ, खेत अझ जोतिन बाँकी छ, परिवर्तनको बीउ अझ रोपिन बाँकी छ।
सम्पादकीय टिम: इन्दु पन्थी, सरस्वती गौतम, विशाल कुँवर, कृतिमा सापकोटा
Comments
Post a Comment